तपाईँ सुन्दै हुनुहुन्छः

सीटीईभीटीले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल

भक्तपुर।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्ने बताउनुभएको छ ।

आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सीटीइभीटीको कामबाट सन्तुष्ट हुन सकिने अवस्था नरहेको बताउनुभयो ।

सशक्त योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिँदै उहाँले भन्नुभयो ‘ऐन, नियमावली र नीतिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौँ तर यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनपर्‍यो ।

१० औँ वर्षदेखिका फाइलहरू पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले बताउनुभयो ।

नयाँ बजेटको प्रक्रिया थालनी भएको जानकारी गराउँदै उहाँले संस्थाका आवश्यकता के–के छन् मन्त्रालयलाई दिन र पछि बजेट नभएर काम गर्न सकिएन भन्ने बहाना नबनाउन आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले मन्त्रालयले सन् २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रूपले काममा लाग्नुपर्ने बताउनुभयो ।

शिक्षा सचिव यादवप्रसाद कोइरालाले पारदर्शिता र सुशासनमा जोड दिँदै कर्मचारीले नियम विपरीत काम गरे मन्त्रालयले दण्डित गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button