तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पछिल्लो ६ महिनामा ३६ जना कुष्ठरोगी पहिचान 

भद्रपुर, झापा । झापामा पछिल्लो ६ महिनामा ३६ जनामा कुष्ठरोग पहिचान भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आव २०७८/०७९ को साउनदेखि पुससम्ममा ३६ जनामा कुष्ठरोग पहिचान भएको हो । 

६९औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर कार्यालयले आज भद्रपुरमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले तथ्याङ्क प्रस्तुत गर्दै ६ महिना औषधि सेवन गर्नुपर्ने १४ जना र एक वर्ष औषधि खानुपर्ने २२ जना नयाँ कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो । 

अघिल्लो वर्ष झापामा ९५ जना नयाँ रोगी पहिचान भएका थिए ।

स्वास्थ्य कार्यालयले नेपाल कुष्ठरोग संगति नामक संस्थासँगको सहकार्यमा वर्षैभरि जिल्ला विभिन्न स्थानमा गएर खोजपड्ताल गर्ने कार्य गर्दछ । कतिपय खोजपड्तालकै क्रममा नयाँ रोगी पहिचान भएका छन् भने कतिपय समस्या लिएर स्वास्थ्य संस्थामा आउँदा कुष्ठ रोग पहिचान भएका हुन् ।

नेपालबाट समग्रमा कुष्ठरोग निवारणको अवस्था भए पनि झापालगायत ११ वटा जिल्लामा निवारणको मापदण्डभन्दा बढी कुष्ठ रोगी पाइएकोले कुष्ठरोग सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा रहेको कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । 

भारतसँगको खुला सीमा र भारतमै विश्वमा सबैभन्दा बढी कुष्ठरोगी भएका कारण झापामा कुष्ठरोग निवारणमा चुनौती रहेको उहाँले बताउनुभयो । 
कुष्ठ रोग सरुवा रोग हो । मायक्रोव्याक्टेरियम लेप्रे नामक कीटाणुले सार्ने यो रोग लागेका मानिसबाट श्वास–प्रश्वासको माध्यमबाट अर्को मानिसमा सर्ने नेपाल कुष्ठरोग संगतिका कार्यक्रम यञ्चार्ज पर्शुराम पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button