रात्रीबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित पूर्वपश्चिम राजमार्गमा रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको छन् । गए राति ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जङ्गल स्थित पूर्वपश्चिम राजमार्गमा बरियारपट्टी सिरहाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ७५३ न.को बसले विपरीत दिशातर्फबाट जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक ्घारीबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते हुनुभएको छ । मोटरसाइकल पछाडि सवार खड्काको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ भने गम्भीर घाइते अरुणको गढिमाई अस्पताल लालबन्दीमा उपचार हुन नसकि थप उपचारको लागि नेश्नल मेडिकल कलेज बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।यसैगरी बस बाटोको बायाँ साइडमा पल्टिन गई दुर्घटना हुँदा बसमा सवार ४० जना मध्ये १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये १ जनाको थप उपचारको लागी सिराहा रिफर गरिएको छ भने ७ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्की सकेका छन् । ४ जना घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको भने उहाँहरू अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
घटना स्थलमा प्रहरी टोली खटी गई दुवै सवारी साधन नियन्त्रणमा लिएको छ भने बस चालक फरार भएको हुँदा खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्