एक वर्षमा ३ हजार ७५० जनाको आँखाको शल्यक्रिया

मकवानपुर । हेटौँडा सामुदायिक आँखा अस्पतालमा एक वर्षमा ३ हजार ७ सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
सन २०२१ मा विभिन्न किसिमका उपचारका क्रममा ३ हजार ७ सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०२१ मा ७९ हजार जनाले आँखा जाँच गराएका छन् । ती मध्ये ७३ हजार ८ सय ८९ जनाले वहिरङग सेवा लिएका छन् भने ५ हजार १ सय १४ जनाले आकस्मिक सेवा लिएका छन् । आँखाको जाँच गराउँदा जलविन्दु, झेटियाविन्दु, ओपाल जस्ता रोग देखिएको आँखा अस्पतालले जनाएको छ ।
यस्तै, विभिन्न सङ्घ, संस्थासँगको सहकार्यमा अस्पतालले १६ वटा आँखा शिविर सञ्चालन गरेको शिविरमा ५ हजार २ सय ५६ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।
मकवानपुरसहित बारा, पर्सा, रौतहटमा सञ्चालन गरिएको शिविरमा मोतिविन्दुको समस्या पहिचान भएका ५ सय ६ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरी उपचार गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
९ सय २३ जनाद्वारा आँखा दानका लागि नाम दर्ता, १८ जनाको नानी सङ्कलनहेटौँडा सामुदायिक आँखा अस्पतालमा हालसम्म ९२३ जनाले आँखा दानका लागि आफ्नो नाम दर्ता गराएको अस्पतालले जनाएको छ ।
२०७४ माघ ४ गतेदेखि आँखाको नानी सङ्कलन गर्न सुरु गरेको अस्पतालमा हालसम्म ९२३ जनाले आँखा दानका लागि नाम दर्ता गराएको तथा १८ जनाको आँखाको नानी सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।
आँखा अस्पतालका आँखाको नानी सङ्कलन केन्द्रका प्राविधिक अमेन्द्र विकका अनुसार पहिलो पटक हेटौँडा–४ का रामकृष्ण श्रेष्ठको आँखाको नानी सङ्कलन गरिएको थियो । भने, पछिल्लो पटक हेटौँडा–२ की शकुन्तला श्रेष्ठको आँखाको नानी सङ्कलन गरिएको छ । सङ्कलित आँखाको नानी काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालमा पठाउने गरिएको छ ।
यस्तै, हेटौँडा सामुदायिक आँखा अस्पतालका कर्मचारी नारायण प्रसाद अधिकारीले पहिलो पटक आँखा दान गर्न सम्झौता गर्नुभएको थियो भने पछिल्लो पटक चतुरमान घलानले आँखा दान गर्ने सम्झौता गर्नु भएको छ ।
सङ्कलित एउटा आँखाको नानीले २ जनाको आँखाको ज्योति फर्काउन सक्ने बताइएको छ ।
क्यान्सर, कोरोना जस्ता रोगको सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको आँखाको नानी भने सङ्कलन नगरिने प्राविधिक विकले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्