सहकारीहरू अघि बढ्न सहकारी विकास बोर्डको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरूलाई अगाडि बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ ।
आज मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्षमा नियुक्त हुनु भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुनर्जीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भूमिका खेल्नु पर्ने बताउनुभयो ।
सहकारी बोर्डको अध्यक्ष समेत रहनु भएको मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै देशको सापेक्षता र मौलिक ढङ्गबाट अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरूप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिँदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले सम्भावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टि गर्नु आवश्यक रहेको बताउनुभयो । ।
राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्