तपाईँ सुन्दै हुनुहुन्छः

सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछन् : अध्यक्ष नेपाल

फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताउनुभएको छ । 

आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताउनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसले ६, नेकपा (माओवादी) केन्द्र ५, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट १÷१ सिट रहेको छ । उहाँले भन्नुभयो, “हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ ।”

आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकै पटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ । एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै रु ५अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झण्डै रु २५ अर्ब खर्च हुने उहाँले बताउनुभयो ।

स्थानीय तह,  प्रदेश र सङ्घीय निर्वाचनको विषयमा बहस भइरहेको उहाँले बताउनुभयो । संविधान सर्वोपरि राखेर कानुनअनुसार नै चुनाव हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “एकै पटकमा तीन वटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ ।” विद्रोहका चेतका साथ कम्युनिष्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताउनुभयो ।

पार्टी जिल्ला हुँदै पालिका र वडा कमिटीसम्म विस्तार भइरहेको उहाँले बताउनुभयो । कोरोनाका कारणले अवरोध आइररहे पनि जिल्ला जिल्लामा अरू पार्टी छाडेर प्रवेश गर्नेको अभियान जारी रहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button