तपाईँ सुन्दै हुनुहुन्छः

साउदी अरबको जेद्धामा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारका लागि श्रम मन्त्रीद्वारा पहल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गर्नुभएको छ । 

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गई उनको अवस्थाबारे जानकारी लिएको छ ।  

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादक सहित दूतावासको टोली बिरामी राना भएको ठाउँमा गई उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ । नेपाली दूतावासले राना सहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरूको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो । 

आठमध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मङ्गलवार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उनको पुलिस केस भएकोले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । 

उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । 

मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button