बिर्तामोडमा कुकर बम फेला, सेनाद्वारा निष्क्रिय

भद्रपुर, झापा । हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले झापामा राखेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
परिषद्ले पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड– १ स्थित पश्चिम बस स्ट्यान्डमा कुकर बम राखेको थियो । आज बिहान स्थानीयले कुकुर बमजस्तो शङ्कास्पद वस्तु देख्नासाथ स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर नेपाली सेनालाई खबर गरेको थियो । श्री नयाँ श्रीनाथ गण चारआलीबाट खटिएको बम डिस्पोजल टोलीले सो कुकर बमलाई घटनास्थलदेखि २ सय मिटर पर लगेर डिस्पोज गरेको गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताउनुभयो ।
‘शङ्कास्पद भन्दा पनि कुकरभित्र विस्फोटक पदार्थ राखिएको थियो, कुकरमा बारुद, तार र बेरिङ भेटिएको छ,’ प्रमुख सेनानी थापाले भन्नुभयो, ‘यसलाई आइडी अर्थात् कुकर बम भनिन्छ, डिस्पोजपछि बनाइएको बमको सेनाले जाँच गर्दैछ ।’
जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलका अनुसार हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले पर्चासहित सो बम राखेको जानकारी दिनुभयो ।
घटनास्थलमा फेला पारेको पर्चामा नेपालमा धर्म निरपेक्षता खारेज गरी हिन्दु राज्य कायम गरिनु पर्ने, सङ्घीयता खारेज गरिनुपर्ने, नागरिकता छानबिनका लागि आयोग गठन हुनुपर्ने, पुरानै पाँच विकास क्षेत्र कायम गरिनुपर्ने लगायतको माग रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्