तपाईँ सुन्दै हुनुहुन्छः

खोप अभियानसहित चेपाङ बस्तीमा स्वास्थ्य मन्त्री

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ बस्तीमा पुग्नुभएको छ ।

चेपाङ बाहुल्यता भएको जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा हिजो शुक्रवारबाट खोप अभियान सञ्चालन गरिएको छ । अभियान सफल बनाउने उद्देश्यका साथ मन्त्री लामा शनिबार राक्सिराङ–५, ताङराङ पुग्नुभएको हो ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अति सीमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान सञ्चालन गरिएको छ । सो क्रममा मन्त्री लामाले १३ जिल्लाका अति सीमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदाय स्तरमा खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन समेत आग्रह गर्नुभयो ।

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ ।

खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले अभियान सञ्चालन गरेको छ ।

अभियानका क्रममा शुक्रवार हिजो दुई पालिकाका एक हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईँले बताउनुभयो ।

शुक्रवारदेखि सुरु गरिएको कोरोनाविरुद्धको खोप अभियान अन्तरगत पहिलो दिन हिजो एघार सय बढीले खोप लगाएको उहाँले बताउनुभयो । पहिलो दिन राक्सिराङ गाउँपालिकाका कुल ७१६ र कैलाशका ४६९ जनालाई खोप लगाइएको गुरागाईँले बताउनुभयो ।

अभियान आगामी १५ गतेसम्म सञ्चालन हुने साथै सो अवधिसम्म खोप नलगाउने स्थानीयलाई कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने निर्णय समेत दुवै पालिकाले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button