तपाईँ सुन्दै हुनुहुन्छः

२५ जनाभन्दा बढी मानिस भेला हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह

सप्तरी । सप्तरीमा २५ जनाभन्दा बढी मानिस भेला हुने कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै विगत केही दिनदेखि देशैभर कोरोना संक्रमणदर बढिरहेको र छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढेका कारण सप्तरी जिल्लामा खुल्ला सीमा नाकाका कारण उच्च जोखिम रहेको जनाएको छ । 

पछिल्लो समयमा सप्तरी जिल्लामा सङ्क्रमणको दर बढेको देखिएको हुँदा सप्तरी जिल्लावासी आमा, बुवा, दाजुभाइ, दिदीबहिनी एवं राजनीतिक दल, जनप्रतिनिधि एवं सम्बद्ध सबैलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न, नगराउन, २५ जनाभन्दा बढीको जुलुस, सभा, महोत्सव, रयाली, मेला बैठक नगर्न नगराउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।

त्यसैगरी, भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।

पटक पटकको अनुरोधलाई बेवास्ता गरिएमा कानुन बमोजिम कारबाही गर्न प्रशासन बाध्य हुने समेत सूचनामा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button