अछाममा १५ वर्षीय बालकले बनाए ब्याट्रीबाट चल्ने गाडी

अछाम । अछाम जिल्लामा एक १५ वर्षीय बालकले ब्याट्रीबाट चल्ने गाडी बनाएका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका धर्म नेपालीले सडकमा गुड्न सक्ने सानो गाडी निर्माण गरेका हुन् ।
उनले करिब एक हप्ता समय लगाएर ब्याट्रीको क्षमता अनुसार राम्रो सडकमा दुई किलोमिटरसम्म गुड्न सक्ने क्षमता भएको गाडी निर्माण गरेका छन् ।
उनले ठ्याक्कै गाडीकै डिजाइनमा फिनिसिङ गरेका छन् । उनी भन्छन् “थप सामाग्री भए मान्छे तथा सामान बोक्ने ठुलो गाडी पनि बनाइदिन्छु ।”
अछामको दुर्गम त्यसैमा प्रविधिको खासै विकास नभएको लयाँटीको गाउँमा अगाडि पछाडि गुड्न सक्ने गाडी बनाउनु कल्पनाको विषयलाई उनले सत्य साबित गरिदिएका छन् ।

उनका काका इन्द्र नेपालीका अनुसार घरमा जतिखेर पनि व्यस्त भइरहने उनले अलि अगाडि एक सानो डोजर पनि बनाएका थिए। अरूभन्दा फरक क्षमतासहित विभिन्न कार्यमा सरिक भइरहने १५ वर्षीय धर्म नेपाली घरायसी कार्यमा प्रयोग हुने डोका, डाला जस्ता सामाग्री बनाइरहन्छन् ।
तर पछिल्लो एक हप्ता जति लगाएर बनाएको इलेक्ट्रोनिक सानो गाडी अछामकै सन्दर्भमा पहिलो हुने दाबी गर्न सकिन्छ । नवज्योति माद्यामिक विद्यालय लयाँटीमा कक्षा ८ मा अध्ययनरत १५ बर्षिय बालकको क्षमता लाई स्थानीयले प्रोत्साहन गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्