तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले डब्लुटिओको अवसरबाट फाइदा लिनु आवश्यक : व्यापारविद्

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापारका विज्ञहरूले विश्व बजारमा छुट्टै पहिचान बनाउन सक्ने नेपाली उत्पादनहरूको विकास र प्रवर्द्धनमा नेपाली उद्यमी व्यवसायीहरूले जोड दिनु आवश्यक भएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले त्यसता प्रतिस्पर्धी नेपाली उत्पादनहरूलाई विश्व व्यापार सङ्गठनबाट पाउने सहुलियतको प्रयोग गरी विश्व बजारसम्म पुर्‍याउनु आवश्यक भएको बताउनुभएको हो । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फूयालले नेपालले व्यापार घाटा कम गर्न उत्पादनमा नै जोड दिनु आवश्यक भएको बताउनुभयो ।

उहाँले निर्यातका लागि बाधक रहेका कानुनहरू परिमार्जन र संशोधन गर्ने र आवश्यक पूर्वाधारहरूको विकासमा सरकारले जोड दिएको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले नेपालले परस्पर निर्भर अर्थतन्त्रको अवधारणाका साथ आफ्ना उत्पादनहरूको बजारीकरण गर्नु आवश्यक भएको बताउनुभयो । 

पूर्व सचिव एवं कूटनीतिज्ञ मधुरमण आचार्यले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालले विश्व व्यापार सङ्गठनको माध्यमबाट प्राप्त गर्ने सुविधा दिन नसकेको बताउनुभयो । उहाँले नेपालले अतिकम विकसित मुलुकको स्तरबाट माथि उठे पछि आफ्नो प्रतिबद्धता र प्रतिस्पर्धात्मक क्षमतामा विकास गर्नु आवश्यक भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय व्यापारका विज्ञ डा. पोषराज पाण्डेले नेपालले विश्व बजारमा सग्लो सामान भन्दा पनि ससाना सामान निर्माण र निर्यात गरेर तथा सेवाको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउन सक्नु पर्नेमा जोड दिनुभयो । 

अन्तर्राष्ट्रिय व्यापारका अर्का विज्ञ डा. रमेश पौडेलले नेपाली निजी क्षेत्रले जे उत्पादन गर्न सक्छ सोही उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सम्वद्ध मुलुकहरूसँग व्यापार वार्ता गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाका प्रमुख सहसचिव गोविन्दबहादुर कार्की तथा उपसचिव अमृत लम्सालले कार्यपत्र प्रस्तुत गर्दै नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था,प्राथमिकता र आगामी बाटोका बारेमा जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button