सिंहदरबारभित्र हुने आवत जावतलाई व्यवस्थित गर्न नयाँ नियम लागु

काठमाडौँ । सरकारले आजदेखि मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबारमा हुने आवत जावतलाई व्यवस्थित गर्न नयाँ नियम लागु गरेको छ ।
कोभिड–१९को संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशका लागि नयाँ नियम लागु गरेको हो ।
गृह मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी सिंहदरबार भित्रका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको जनाएको हो ।
अब सिंहदरबार प्रवेशका लागि नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति जारी भए सँगै सिंहदरबार प्रवेशका लागि खुला गरिएका दक्षिण गेट र पूर्वी गेटमा चेकजाँचमा कडाइ गरिएको छ ।
सरसफाइकर्मीका लागि पुरानै पास र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइने गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।
उहाँले करारमा कार्यरत कर्मचारीहरू र सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेना गृहका लागि आज पुरानै पासबाट प्रवेश गर्न दिइएको र भोलिदेखि सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको सहमति लिई बनाएको पास लागु हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्