हिमा गाउँपालिकामा ४ वर्षमा ५७ किमी सडक निर्माण

जुम्ला । स्थानीय सरकार सञ्चालन पछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रुपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा राखी लगानी गरे। सोही अनुरूप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जस अन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।
भौगोलिक रुपमा विकट हिमा गाउँपालिकाका ७ वटै वडाका साढे तीन दर्जन बस्तीहरूलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले मोटो रकम लगानी गरेर हाल सम्म ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार पालिकाका सबै बस्तीमा सडक पुगे पनि गाडी गुड्न भने बाँकी छ ।
हिमा गाउँपालिका प्राविधिक प्रवेश देवकोटाका अनुसार चार वर्षमा निर्माण भएको करिब ५७ किमी सडक मध्य कतै स्तर वृद्धि कतै आरसिसी भइरहेको छ । हिमा गाउँपालिकाको तथ्याङ्क अनुसार साढे चार वर्षमा दियार गाउँ हुँदै मोफ्ला सम्म १५ किमी, पाथखोला हुँदै कालिकोट जोड्ने सडक ५ किमी, भूगोल पाटादेखि बुअ सम्म २ दशमलव ५ किमी, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किमी निर्माण भएको छ ।
त्यस्तै, बड्की हुँदै जोगीबाडा सम्म १ दशमलव ५ किमी, बड्की हुँदै ओदी सम्म १२ किमी, सेरगाउँ पिगि सम्म १ किमी र कुडु बन्चरीकाँडा च्यामेले खर्क सम्म ३ किमी गरी जम्मा करिब ५७ किमी ग्रामीण सडक निर्माण भएको छ ।
सेरगाउँ पिगि सम्म थप ३ दशमलव ८ किमी र जोगीबाडा च्याल्से हुँदै च्यामा जोड्ने ५ किमी सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको प्राविधिक देवकोटाले जानकारी दिए । साथै, ओदी गाउँदेखि नेत्र ज्योति मावि सम्मको ४ सय ८० मिटर बाटो आरसिसी भएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताउनभयो । उहाँले भन्नुभयो,“पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर आफ्नो कार्यकाल अवधिभर गाउँमा गाडी पुराउने लक्ष्य राखेको छु ।”
सडक बिना गाउँका कृषि उत्पादनले बजार नपाउने, स्थानीयको जीविकोपार्जनमा सुधार नआउने भएकोले सडक विकासमा जोड दिएको र अब गाउँमा पुगेका सडकलाई आर्थिक समृद्धि सँग जोड्न थप लगानी गर्न पालिका तयार रहेको अध्यक्ष शाहीको भनाई छ ।
गत आवमा मात्रै हिमा गाउँपालिकाले सडक, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, जलविद्युत लगायतको गरीका २१ करोड लगानीमा करिब ८० वटा योजना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाको भनाई छ । हिमा गाउँपालिकाले भौगोलिक विकटतालाई मध्यनजर गर्दै पालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्