बाँकेमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी ६ हब्रहवाकी ३० बर्षीया चाँदनी थारुको आज बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । दाउरा काट्न जङ्गल गएकी थारुलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो । बाघको आक्रमणबाट बिहीबार मात्र राप्तीसोनारी ४ प्रसहवाकी ५२ बर्षीया लिला विष्टको मृत्यु भएको थियो ।
यसअघि शुक्रवार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको आक्रमणबाट जोगिन सफल भएका थिए । तर, बाघले बाख्रामाथि आक्रमण गरेको थियो । बाघले एउटा बाख्रा मारेको थियो । राप्तीसोनारीमै बुधवार पनि जङ्गलमा पात टिप्न गएका महिलालाई पाटेबाघले आक्रमण गरेको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० वर्षीया महिला दुर्गा थारुलाई बुधवार बिहान बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणमा परे पनि उनी बाँच्न सफल भएकी थिइन् ।
केही दिन अघि पनि राप्तीसोनारी ५ र ६ को जङ्गलमा एक जना शिक्षकलाई बाघले झम्टिएको थियो । मोटरसाइकलमा सवार उनी बाँच्न सफल भएका थिए । आजको घटनासँगै बाघले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा ४ जनाको ज्यान लिइसकेको छ । यी घटना दोहोरिरहेपछि राप्तीसोनारीमा त्रास बढेको छ । स्थानीयहरू त्रसित बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्