तपाईँ सुन्दै हुनुहुन्छः

पनौती बाह्र वर्षे मकर मेलाको तयारी तीव्र

बनेपा। काभ्रेपलान्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएसँगै व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ । अब सो क्षेत्र भएर चल्ने टिपर एक महिनाको लागि बन्द गरिने भएको छ । पनौती नगरपालिका–७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको हो ।

वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पनौती त्रिवेणीघाट क्षेत्रमा लाग्ने मकर मेला व्यवस्थापन व्यवस्थित गर्न अबको एक महिनासम्म टिपर चलाउन बन्द गर्ने निर्णय गरेको बताउनुभयो । टिपरसँगै सो क्षेत्रमा खानी उत्खनन् नगर्न तथा वडा बासिन्दाले घरपालुवा हाँस एवं पशुपन्छी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ । नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी (काभ्रे एकीकृत खानेपानीबाट आएको पानी) जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

मूल व्यवस्थापन समितिले पुस २५ गतेभित्रमा भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने जनाएको थियो । नगरपालिकाको वडा नं ६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाटदेखि गोरखनाथ डाँडामा लाग्ने बाह्र वर्षे मकर मेलाको लागि आवश्यक पर्ने भौतिक संरचनासहित सरसफाइ, रङरोगन, प्रचारप्रसार, सवारी पार्किङ र सडकको वैकल्पिक व्यवस्थापनलगायतका काम भइरहेको छ । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आउँदो माघ १ गतेदेखि एक महिनासम्म मेला लाग्नेछ । आवश्यक पर्ने व्यवस्थापकीय कामका लागि अहिले भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मकर मेला मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बताउनुभयो ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र सुरक्षा व्यवस्थापन गर्न सिसीटिभी जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ । मेला लक्षित गरी नगरभित्रका सबै मठमन्दिर, गुम्बा, देवल, सडक खण्ड, पर्यटकीय स्थल, सार्वजनिक स्थल मर्मतसम्भार र सरसफाइको कामलाई प्राथमिकतामा दिइएको छ । दर्शनार्थीको सजिलोका लागि विन्धवासिनी बचत तथा ऋण सहकारीसँगको समन्वयमा बनेपादेखि पनौतीसम्मको सडक खण्डमा १५ विश्राम स्थल निर्माण गरिने छ ।

आवश्यक भौतिक पूर्वाधारसहित अन्य विषयगत क्षेत्र तोक्ने गरी पूजाआजा, प्रदर्शनी, यातायात, सरसफाइ, सांस्कृतिक, प्रचारप्रसार, सजावट, सूचना तथा खोज उद्धार, स्वास्थ्य, स्वयंसेवक परिचालन, अतिथि सत्कार, आवास, सुरक्षा व्यवस्था, स्नान, सडक बत्ती र खानेपानी व्यवस्थालगायतका काम अगाडि बढिरहेको छ । यसअघि २०६६ सालमा भएको मेलामा उल्लेख्य जनसहभागिता भएकाले यस पटक पनि त्यही हाराहारीमा सहभागिता हुने अनुमान समितिको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button