द्वन्द्वको समयमा विस्थापित बादी परिवारले फिर्ता पाए आफ्नो जग्गा

कञ्चनपुर । केही समय अघिसम्म बाटोमा पाल टाँगेर बस्दै आएका दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी घरपरिवारले जग्गा पाएका छन् ।
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा असुरक्षित महसुस गर्दै घर खेत छाडेर अन्यत्र पलाएन भएका बादी घरपरिवारहरूलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले जग्गा उपलब्ध गराएको हो ।जग्गा प्राप्त गरेसँगै वादी परिवारहरूमा अहिले खुसी छाएको छ ।
नेपाल सरकारले सुकुम्बासीहरुलाई जग्गा दिने भन्ने सुनेपछि दोधारा चाँदनी नगरपालिका वडा नं। ३ बडवाल टोलमा फर्केका बादीका ४ घरपरिवार केही महिनासम्म बाटोमा पाल टाँगेर बस्दै आएका थिए । बाटोमा पाल टाँगेर बस्दै गाँस बाँस र कपासको पीडाले छटपटी रहेको अवस्था सञ्चार माध्यमबाट सार्वजनिक भएसँगै बादी घर परिवारको अवस्था बुझ्न सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी लगायतको टोली बडवाल टोल पुगेको थियो ।
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा बडवाल टोलमा स्थानीयवासी जोगी महता लगायत टोलीले आफु माओवादी बताउँदै बडवाल टोल तथा आसपास क्षेत्रमा आतङ्क मच्चाएको कारण चरम आतङ्क सहन गर्न नसकी ज्यान बचाउन ४ बादी घरपरिवार भारततर्फ विस्थापित हुन बाध्य भएको बादी परिवारको मुखिया बिरभाने बादीले बताउँदै आउनुभएको छ ।
विगतका आफ्नो झण्डै ७ बिघाह जग्गा रहेको ४ बादी घरपरिवारले दाबी गर्दै आएका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा गठन भएको बादी घरपरिवारको जग्गा छानबिन समितिले बडवाल टोलमा स्थलगत अनुगमन गरी बादी घरपरिवारको जग्गा उनैलाई दिनु पर्ने सिफारिस गरेसँगै दोधारा चाँदनी नगरपालिका कार्यालयले विगतका दिनहरूमा बादी घरपरिवारले छाडिगएको जग्गा उनीहरूलाई दिने निर्णय गरेको हो ।
नगरपालिकाले थप केही व्यक्तिहरूले आफ्नो जग्गा छाड्न नखोजेको हुँदा बाँकी रहेको जग्गा पनि नगरपालिकाले सहज ढङ्गबाट भोग चलन गर्ने व्यवस्था गराइदिए आभारी हुने बिरभान बादीले बताउनुभयो । जग्गा पाएपछि बादी परिवारले जग्गामा गहुँ र तरकारी लगाएका छन् । ४ बादी परिवारले झण्डै डेढ बिघाह जग्गा प्राप्त गर्नुभएको हो । जग्गा प्राप्त गरेसँगै नेपाल सरकारले आफूहरूको थप समस्या पनि समाधान गर्नेमा उनीहरू ढुक्क देखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्