तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाका हुँदै नेपाल भित्रिएका १० जनामा कोरोना संक्रमण

वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट शुक्रवार नेपाल भित्रिएका शङ्कास्पद २ सय ३७ जनाको एन्टिजेन परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल आउने भारतीय तथा नेपाली नागरिकको कारण वीरगन्ज अहिले उच्च जोखिममा रहेको छ ।

वीरगन्ज रक्सौल नाकाबाट नेपाल भित्रिएका शङ्कास्पद व्यक्तिहरूको परिक्षण गर्दा आज एक बालकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाद्वारा इनर्वामा स्थापित हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महतोले बताउनुभयो ।

संक्रमित मध्ये ६ जना भारतीय नागरिक रहेका छन् । संक्रमित मध्ये ५ जना भारतको कोलकताबाट नेपाल घुम्न आएका र एक जना मोतिहारीका १४ वर्षीय बालक रहेका छन् ।

त्यसैगरी संक्रमित ४ जना नेपालीहरुमध्ये २ जना रुपन्देही, बुटवलका रहेको र उनीहरू पनि कोलकताबाटै नेपाल आएको डा. महतोले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा अर्का एक जना सर्लाहीका रहेको र उनी पनि कोलकताबाट घर फर्किएको बुझिएको छ ।

त्यसैगरी अर्का एक संक्रमित बारा जिल्लाको कलैया घर भई भारतको दिल्लीबाट घर फर्किएको व्यक्ति रहेको डा. महतोले बताउनुभयो ।

संक्रमित सबै भारतको कोलकता र दिल्लीबाट आएको हुँदा भारतबाट ठूलो सङ्ख्यामा संक्रमण भित्रिन सक्ने खतरा देखिएको छ । संक्रमण पुष्टि भएका ९ जनाले कोरोना भाईरस विरुद्धको पुरा मात्रा खोप लगाएको दाबी गरेका छन् ।

खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रम भारतबाट नेपाल भित्रिनेहरूको परीक्षणमा पुष्टि भएको समेत डा.महतोले बताउनु भयो । यसअघि बिहीबार बीरगंज नाका हुँदै नेपाल भित्रिने शङ्कास्पद ३ सय ६० जनाको स्वास्थ्य परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अङ्ग्रेजी नयाँ बर्ष सुरु भए यता वीरगन्ज नाका हुँदै भित्रिने भारतीय तथा नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षणको क्रममा ३४ जनामा संक्रमण पुष्टि भएको र संक्रमित मध्ये ९० प्रतिशत दिल्ली र कोलकताबाट आएका व्यक्तिहरू रहेको हेल्थ डेस्क इन्चार्ज डा.महतोले बताउनुभयो ।

बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको बैठकले सीमा नाकामा कडाइ गर्नुका साथै परीक्षणको दायरा बढाउन दिएको निर्देशन अनुरूप आजबाट नाकामा कडाइ हुँदा ठूलो सङ्ख्यामा संक्रमित भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button