महाधिवेशनको तिक्तता बिर्सेर नेतृत्व एकजुट हुन आवश्यक : डिला सङ्ग्रौला

विराटनगर । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. डिला सङ्ग्रौलाले महाधिवेशनको तिक्ततालाई बिर्सेर पार्टीको नेतृत्व तहमा एकजुट हुनु आवश्यक रहेको बताउनु भएको छ ।
प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी हुने तिनै तहको निर्वाचनमा काँग्रेसलाई विजय बनाउन नेतृत्व तह एक जुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
महाधिवेशनबाट विजय भएका तथा उपविजेताहरूको विचारलाई नेतृत्व तहले सम्बोधन गर्नुपर्ने उहाँको भनाई थियो । महाधिवेशनको परिणाम अनुसार भएका उपविजेतहरुलाई अब बस्ने केन्द्रीय समितिको बैठकले वरियता क्रम अनुसार पार्टीको कुन स्थानमा राख्ने विषयमा टुगो लगाउने उहाँले बताउनुभयो ।
उहाँले पार्टीको महाधिवेशनको निर्वाचनमा फरक विचार राख्नु सामान्य कुरा भएकाले अव त्यस्ता कुरालाई बिर्सेर पार्टीलाई सङ्गठित बनाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले महाधिवेशनको प्रक्रिया अहिले पनि जारी रहेकाले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टी सभापतिले केही व्यक्तिहरूलाई केन्द्रिय सदस्यमा मनोनीत गर्नु भएकाले त्यसलाई अन्यथा लिन नहुने बताउनुभयो ।
एक प्रश्नमा उहाँले आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि कांग्रेस एक्लैले चुनावमा जानुपर्ने बताउनुभयो । गठबन्धन भित्रको दलसँग कतिपय कुरामा विचार सिद्धान्त नमिल्ने भएकाले काँग्रेस एक्लैले चुनाव लड्दा उपयुक्त हुने उहाँको भनाई थियो । यो विचार आफ्नो निजी विचार भएको भन्नुहुँदै उहाँले काँग्रेसकै नेतृत्वमा संविधान बनेको र काँग्रेसको नेतृत्वमा मुलुकमा लोकतन्त्र र गणतन्त्र आएकाले एक्ले चुनाव लड्ने सामर्थ्य काँग्रेसमा रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्