तपाईँ सुन्दै हुनुहुन्छः

चन्दनाथका ७५ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका भित्रका ७५ दशमलव २ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा पुगेका छन् । समग्र जिल्लाका ८३ दशमलव १ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा पुग्दा चन्दननाथका ७५.२ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका हुन् । बिहीबार सदरमुकाम खलङ्गामा राष्ट्रिय खोप कार्यक्रम सरोकारवालाहरूका लागी खोप सुनिश्चित सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा युनिसेफले सो तथ्याङ्क सार्वजनिक गरेको छ ।

पूर्ण खोप कर्णाली प्रदेश घोषणा गर्ने लक्ष्य अनुसार जुम्लामा पनि खोप अभियान शुरु गरिएको छ । जस अन्तर्गत चन्दननाथ नगरपालिका खोपयुक्त नगर घोषणा भएपनि पूर्णखोप सुनिश्चित घोषणा हुन बाकी छ ।  

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणाको तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको खोप लगाउन नगरपालिकाले स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेका छौ  । 
गर्भवती, बालबालिकाले लगाउने खोप देखि हाल कोरोना खोप सबै नागरिकलाई लगाउन स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ”

नगरपालिकासँग समन्वय गरेर स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम युनिसेफ नेपालले गरेको छ । आगामी दिनमा पनि युनिसेफ नेपालसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने नगरप्रमुख सेजुवालले उल्लेख गर्नुभयो  ।

कोरोना विरुद्ध बालबालिकालाई मोर्डना खोप अन्यलाई कोरोना खोप लगाउन अभियान जारी रहेकोले सबैलाई खोपको पहुँच ल्याउन जुटिरहेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । 

सदरमुकाम खलङ्गा बजारमा बस्ने बालबालिका देखी विद्यालयमा पढ्ने विद्यार्थी र टियूसन सेन्टर अध्ययनरत विद्यार्थी समेतलाई खोप दिने गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।  राष्ट्रिय खोप ऐन २०७२ ले दिएको अधिकारलाई सदुपयोग गरी सबै बालबालिकालाई खोप सुनिश्चित गर्ने जरुरी रहेको छ । खोपबाट वञ्चित हुन नदिनका लागी स्थानीय सरकारदेखि सबै निकायको महत्त्वपूर्ण भूमिका रहेको युनिसेफ नेपालले जनाएको छ । 

राष्ट्रिय खोप निर्देशनालयका प्राविधिक सहायक कन्चन थापाले नेपाललाई पूर्ण खोप घोषणा गर्ने अभियान अन्तर्गत सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । तथ्याङ्क अनुसार अझै जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट वञ्चित भएकोले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जुम्लाका आठै स्थानीय तह जुट्नु पर्ने उल्लेख गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button