बृहत् निःशुल्क स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले लिए सेवा

भद्रपुर, झापा । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
दुरदराजका विपन्न समुदाय तथा मजदुरहरूलाई लक्षित गरेर काठमाडौँस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लब अफ भद्रपुर, इनरह्विल क्लब अफ भद्रपुर, रोट्रयाक्ट क्लब अफ भद्रपुर, इन्ट्रयाक्ट क्लब अफ भद्रपुर र नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा आयोजित शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले बिरामीको चेकजाँच गरेको थियो ।

शिविरमा बचनकवलका दूर दराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदुरहरू उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझाले जानकारी दिनुभयो ।
चिकित्सकीय टोलीमा विशेषज्ञ डा. समीर कार्की, डा.अनीश ज्ञवाली, स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौलालयात मेची अस्पताल, भद्रपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरू समेत रहेका थिए । शिविर व्यवस्थापनमा भद्रपुरका रोटरियनहरुको उल्लेख्य सहभागिता थियो ।

शिविरबाट पहिलो दिन चार सयभन्दा बढीले सेवा लिएको र सोही शिविर शुक्रवार कचनकवलकै वडा नं ६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिनुभयो ।
यो शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिका अनुसार भएको बताउँदै श्रेष्ठले शिविरमा झन्डै चार लाख रुपैयाँ बराबरको औषधि पनि निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्