एकीकरण मार्ग खोज्दै नेपाली सेना

गोरखा । पृथ्वी नारायण शाहले नेपाल राज्य एकीकरण गर्ने क्रममा गोरखा हुँदै हिँडेको बाटो (एकीकरण मार्ग) खोज्दै नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म पदयात्रा सुरु गरेको छ । तीन सय औँ पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंको हनुमाढोका दरबारसम्म पदयात्रा सुरु गरेको हो । आज गोरखा जिल्ला स्थित हुनमानथानबाट सेनाले पदयात्रा सुरु गरेको छ ।
सेनाको श्री रिपुमर्दन गणको संयोजनमा पदयात्रा गरिएको गणका सेनानी प्रकाश परियारले बताउनुभयो । कार्यक्रमलाई गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाले सहयोग गरेका छन् ।
पृथ्वीनारायण शाहकालीन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट पैदल यात्रामा निस्किएको हो ।
पदयात्रामा १० जना तत्कालीन पृथ्वी नारायण शाह कालिन सेनाको कालो पोशाकमा र ३० जना हालको नेपाली सेनाको पोसाकमा गरी ४० जनाको समूह रहेको परियारले बताउनुभयो ।
पदयात्रामा सहभागी सैनिकहरू हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसीहुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछन् ।
धादिङको शिव दल गणको टोलीले नुवाकोट र केही दिनपछि नुवाकोटले काठमाडौंलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ काठमाण्डौंको हनुमान ढोका पुग्ने श्री रिपुमर्दन गणका सेनानी परियारले बताउनुभयो ।
टोली २७ गते हनुमान ढोकामा आयोजित पृथ्वी जयन्तीको औपचारिक कार्यक्रममा सहभागी हुने नेपाली सेनानी परियारको भनाइ छ ।
‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो । पदयात्रा सुरुवात कार्यक्रममा मध्येकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्