तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको वाग्मतीको पानी अध्ययन

काठमाडौँ । वाग्मतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ । 

वाग्मती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्त रुपमा अध्ययन सुरु गरेको हो । ढल मिसिएका दुई दर्जन स्थानको पानीको गुणस्तर परीक्षण गरिएको छ । 

परीक्षणका क्रममा ढल मिसिएको ८० देखि १०० मिटरसम्म पानी बिग्रिएको र त्यसपछि बहने क्रममा गुणस्तर शुद्ध भएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो । वाग्मतीको मुहान क्षेत्रकै पानीमा धमिलोपन बढी देखिएको अध्ययन कार्यदलले जनाएको छ ।    

“मुहान क्षेत्रको गोकर्णमाथि नै चार वटा वासिङ सेन्टर र क्रसरसमेत सञ्चालनमा रहेछन्, ती कम्पनीलाई पनि पत्राचार गरिएको छ, ढल व्यवस्थापन गरेर स्वच्छ पानी बगाउनुपर्छ, गलैँचा एवं विभिन्न उद्योगबाट फोहर पानी आउने क्रम पनि नरोकिएको भेटिएकाले उद्योग मन्त्रालयसँग समन्वय गरेर कदम चाल्नेछौँ”, उहाँले भन्नुभयो । 

उत्तर वाहिनी क्षेत्रमा गाई फार्मबाट आएको फोहरले पनि वाग्मती प्रदूषित भएको अध्ययन कार्यदलले फेला पारेको छ । कुकुरलगायत मृत जनावर पनि नदीमा भेटिएको समितिले जनाएको छ ।  नदी किनारमा कानुन विपरीत काम गर्नेलाई दण्ड जरिवाना गर्ने तयारी पनि समितिले गरेको छ । पशुपति क्षेत्रसम्मको पानीको गुणस्तर सुधार गर्न ढल हालिएका स्थानको अध्ययन गरिएको हो । 

पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले २७ वर्षअघि अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो । अध्ययन र पानीको गुणस्तर परीक्षणलाई मनोहरा नदी दोभानसम्म लैजान तयारी भएको छ । मुहान क्षेत्रकै वाग्मती प्रदूषित हुन थालेपछि गोकर्णमा प्रशोधन केन्द्र निर्माणका लागि ठेक्कासमेत भएको छ । गोकर्णमा वाग्मती, सूर्यमती र चन्द्रमतीको पानी प्रशोधन गरिने छ । 

वाग्मती सफाइ अभियानकर्मी ईश्वर पुडासैनीले ज्यालादारीमा सफाइ गरेर वाग्मतीमा स्वच्छ पानी बगाउन नसकिने बताउनुभयो । स्वयंसेवी अभियानलाई नै निरन्तरता दिनुपर्नेमा अधिकार सम्पन्न वाग्मतीले कार्यकर्ता भर्ती गरेर सफाइ अभियानलाई बदनाम गर्न खोजेको उहाँको आरोप छ । 

मुहान क्षेत्रकै गुह्येश्वरीमाथिको वाग्मतीमा फोहर थुपार्ने र जलाउने काम भइरहेकामा स्थानीय सरकार र अधिकार सम्पन्न वाग्मती चुप लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । सरकारी निकायले नै वाग्मती र यसका सहायक नदी ढल हाल्दा पनि अधिकार सम्पन्न वाग्मतीले पत्राचारसमेत नगरेकामा अभियानकर्मी पुडासैनीले दुःख व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button