तपाईँ सुन्दै हुनुहुन्छः

मल अभावले माटोमा नकारात्मक प्रभाव

जनकपुरधाम । रासायनिक मलको अभावको प्रभाव धनुषाको कृषि योग्य माटोमा पनि नकारात्मक प्रभाव देखा गर्न थालेको छ । 

माटोको गुणवत्ता कायम गर्नका लागि माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरसको मात्रामा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाले जिल्लाको वटेश्वरमा गरेको माटोको परीक्षणबाट सो तथ्य बाहिर आएको परियोजनाका कृषि प्राविधिक राहुल देव साहले जानकारी दिनुभयो । 

अहिले किसानहरूले मल नपाएपछि घरेलु मलको प्रयोग गरिरहेकाले यसले केही काम गरे पनि रासायनिक मलका कारणले माटोको प्रवृत्ति बिग्रेकाले त्यसका लागि रासायनिक मल नै आवश्यक रहेको छ । 

यसका साथै परीक्षणमा माटोमा पोटासको मात्रा मध्यम खालको रहेको छ । पालिकाका ८० ठाउँको माटोको परीक्षण गर्दा उक्त तथ्य बाहिर आएको कृषि प्राविधिक साहले जानकारी दिनुभयो । माटोमा बढेको अम्लीयपन घटाउनका लागि चुन छर्किनु उत्तम हुने उहाँको भनाइ छ । 

माटोमा हुनुपर्ने सम्पूर्ण तत्त्वको बारेमा जानकारी पाउन थप परीक्षण जरुरी रहेको र यो सुविधा राजविराजमा रहेको प्रयोगशाला र नेपाल सरकारको झुम्कामा रहेको ल्याबमा रहेको जानकारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

विगत केही वर्ष यता माटोको अवस्थाका बारेमा जानकारी लिने र माटोको उपचार गर्ने चाहना राख्ने किसानको प्रतिशतमा वृद्धि भए पनि परीक्षण सुविधाको अभाव भएकाले माटोको उपचारका लागि चाहिने तत्त्वहरूको उपलब्धता कम रहेका कारणले किसानहरू मर्कामा परिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button