तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा चिसो अत्याधिक बढेपछि जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेमा चिसो अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ । 

तीन दिनदेखि बिहान र साँझ शीतलहरसँगै बाक्लो कुहिरो लागिरहेको छ । तापक्रम घट्दै गएकाले चिसो दिन प्रतिदिन बढिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्जको तापक्रम ८ देखि ९ डिग्री सेल्सियसमा झरेको छ । बिहान र साँझ शीतलहरसँगै कुहिरो लागे पनि दिउँसो केही बेर मधुरो घाम देखिने गरेको छ ।

चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई ५ हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो ।

चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ । शीतलहरसँगैको कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थलमा बिहानका उडान प्रभावित हुने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button