तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय पोल्ट्री दिवस: अण्डा र मासुको महत्त्व बुझाउँदै मनाइयो

चितवन । जुनसुकै उमेर समूहका मानव स्वास्थ्यको लागि अण्डा र कुखुराको मासु फलदायी हुने सरोकारवालाहरूले बताएका छन् । 

नवौँ राष्ट्रिय पोल्ट्री दिवस–२०७८ का अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रममा सरोकारवालहरूले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिलाई अण्डा र कुखुराको मासु फलदायी हुने बताएका हुन् । 

कार्यक्रममा नेपाली पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले सबै भन्दा सस्तोमा सर्वसुलभ तरिकाले प्रोटिन अण्डा र मासुमा पाइने बताउनुभयो । सर्वसुलभ तरिकाले प्रोटिन सहित मानव शरीरलाई आवश्यक पर्ने तत्त्वहरू पाइने अण्डा र मासुको विकासका लागि पोल्ट्री क्षेत्रको विकास अपरिहार्य रहेको विष्टले बताउनुभयो । पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकारले पोल्ट्री नीति बनाएको भए पनि कार्यान्वयन भने भएको विष्टले बताउनुभयो । 

कार्यक्रममा वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा शरण पाण्डेले सन् २०२५ सम्म पोल्ट्रीजन्य उत्पादन दोब्बर बनाउने गरी सरकारले नीति निर्माण गरिरहेको बताउनुभयो । एक जना नेपालीले वार्षिक रुपमा सरदर ४८ वटा अण्डा सेवन गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै डा पाण्डेले लक्ष्य बढाउनका लागि समेत प्रदेश सरकारका तर्फबाट पहल भइरहेको बताउनुभयो । 

मानव स्वास्थ्यको सबै दृष्टिकोणबाट अण्डा र मासु महत्त्वपूर्ण रहेको भन्दै पाण्डेले पोल्ट्री क्षेत्रको विकासका लागि मन्त्रालयले काम गर्ने बताउनुभयो । 

कुखुरा व्यवसायी मञ्चका पूर्व अध्यक्ष डा तिलचन्द्र भट्टराईले नेपालमा आत्मनिर्भर रहेको एक मात्रै क्षेत्र पोल्ट्री व्यवसाय भएको बताउनुभयो । पछिल्लो समय पोल्ट्रीमा नयाँ नयाँ प्रविधि भित्रिरहेको भन्दै उत्पादन वृद्धिसँगै खपत पनि बढाउनुपर्ने चुनौती रहेको बताउनुभयो । सरकारी तवरबाट अण्डाको खपत वृद्धिका लागि ठोस पहलहरू हुनुपर्ने भट्टराईको भनाइ छ । 

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले अण्डा र कुखुराको मासुको महत्त्वको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्राध्यापक डा सुवीर सिंहले नेपालमा अझै पनि ४२ प्रतिशत प्रोटिन अपुग रहेको भन्दै अण्डाको खपत बढाउन सके शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा पुर्‍याउन सकिने बताउनुभयो । शरीरको वृद्धिको हिसाबले प्रोटिन आवश्यक पर्ने भन्दै डा सिंहले प्रोटिनको नियमित र दैनिक आवश्यक पर्ने बताउनुभयो । 

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले एक जना व्यक्तिले दैनिक दुई वटा अण्डा सेवन गरेको अवस्थामा  स्वस्थ हुने बताउनुभयो । अधिकारीले अण्डामा प्रोटिन, फ्याट, भिटामिन डी, फोलिक एसिड, सेलिनियम लगायतका तत्त्वहरू पाइने भएकाले विशेष गरी बालबालिका, गर्भवती तथा वृद्धहरूका लागि अण्डा उपयोगी हुने बताउनुभयो । कुखुराको छातीको मासु सबैभन्दा स्वस्थ वर्द्धक हुने उल्लेख गर्दै डा अधिकारीले दैनिक ७० ग्राम मासु उपभोग गर्न सकेको खण्डमा मानिस डिप्रेसनबाट समेत मुक्त हुने दाबी गर्नुभयो । 

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले पोल्ट्रीको वर्तमान अवस्था, सम्भावना र चुनौती तथा नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा रेवन्तकुमार भट्टराईले नेपाली पोल्ट्री उद्योगको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राज्यको कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । 

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले विसं २०१७ पुस १७ गते बाराको परवानीपुरमा सेन्ट्रल पोल्ट्री ह्याचरीको सञ्चालन भएको दिनलाई पोल्ट्री दिवसको रुपमा मनाउन थालिएको बताउनुभयो । 

आत्मनिर्भर व्यवसायको रुपमा रहेको पोल्ट्री क्षेत्र कोरोनाका कारण प्रभावित भएको उल्लेख गर्दै लामिछानेले पोल्ट्री क्षेत्र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । दानाको कच्चा पदार्थमा मूल्य वृद्धि हुँदा कुखुरा उत्पादनमा लागत बढ्न गएको भन्दै लामिछानेले दानाको कच्चा पदार्थको रुपमा प्रयोग हुने मकै, भटमास लगायतका वस्तुहरू स्वदेशमा नै उत्पादन गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

पोल्ट्री क्षेत्रमा १ लाख ५० हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका भन्दै लामिछानेले खुला सिमाना तथा अवैध व्यापारका कारण पोल्ट्रीमा चुनौती थपिएको बताउनुभयो । 

नेपालमा तीन वटा ग्राण्ड प्यारेन्ट फार्म, १३६ वटा ह्याचरी, १२७ वटा दाना उद्योग, १७ वटा दाना सप्लायर्स, तीन हजार २०० औषधि व्यवसायी, नौ वटा औषधि उत्पादक कम्पनी, नौ वटा मासु प्रशोधन उद्योग, २००० बढी पोल्ट्री फार्म रहेका छन् । आज शनिबार भरतपुरमा मनाइएको नवौँ पोल्ट्री दिवसको आयोजना वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र नेपाल कुखुरा व्यवसायी मञ्चले गरेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button