तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको महाधिवेशनबाट राजनीतिक दस्ताबेज सर्वसम्मतिले पारित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक दस्ताबेज सर्वसम्मतिले पारित भएको छ । 

काठमाडौँको प्रज्ञा भवन कमलादीमा आठौँ राष्ट्रिय महाधिवेशनमा सोमबार पेस भएको वैचारिक एवम् राजनीतिक दस्ताबेजमा उठेका प्रश्नहरूमाथि प्रचण्डको जवाफ सकिएपछि आज पारित भएको हो । सो राजनीतिक दस्ताबेजमा विभिन्न २५ समूहले राखेको समूहगत सुझाव प्रस्तुत गरेको थियो । 

अध्यक्ष प्रचण्डले ती सबै सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको  पनि बताउनुभयो । 

अध्यक्ष प्रचण्डले सानो समूहबाट सुरु गरेर जनयुद्ध, शान्ति प्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर अहिलेको अवस्थामा पुर्‍याएको चर्चा गर्दै आफूले अन्तिम अवसर गुम्न नदिने बताउनुभयो । उहाँले नेता द्वय राम कार्की  र लेखनाथ न्यौपानेको फरक मतलाई फरक मतकै रुपमा सुरक्षित राख्ने पनि बताउनुभयो । 

आइतबारबाट सुरु महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक एवम्  राजनीतिक प्रतिवेदन र नेता देव प्रसाद गुरुङले विधान संशोधन मस्यौदा पेस गर्नुभएको थियो ।

सो प्रतिवेदनमाथि मङ्गलवार छलफल गरी बुधवार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गर्नुभएको थियो । 

यसअघि आजै लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन समेत पारित भएको थियो । 

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित भएसँगै  भोलि ११ बजेपछि विधान संशोधन मस्यौदामाथि बन्दसत्रमा उठेका प्रश्नको नेता देव प्रसाद गुरुङले जबाफ दिनुहुनेछ । नेता गुरुङको प्रतिवेदन पारित भए लगत्तै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्र प्रचार विभागका सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । 

बन्दसत्रमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्ने तयारी गरिएका छ । सो नाममा कसैले दाबी विरोध गरेमा वा सर्वसम्मत हुन नसेकेमा मात्र निर्वाचन हुनेछ । 

माओवादी केन्द्रको विधान अनुसार महाधिवेशन हलले केन्द्रीय सदस्यहरु मात्रै चयन गर्ने व्यवस्था गरेको छ । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ कार्यसमिति चयन गर्नेछ । 

प्रतिनिधिहरूले केन्द्रीय सदस्य टुङ्गो लगाए पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिको चयन केन्द्रीय समितिले गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button