राज्य पक्षबाट प्रदेश २ मा मानव अधिकार उल्लङ्घनका घटनामा व्यापक कमी
जनकपुरधाम । मानव अधिकारको सवालमा राज्य पक्ष बढी संवेदनशील भएका कारणले प्रदेश नंं २ मा राज्य पक्षबाट हुने मानव अधिकारको घटनामा व्यापक मात्रामा कमी आएको छ ।
राज्य पक्षबाट मानव अधिकारको घटनामा कमी आए पनि गैर राज्य पक्षबाट घटनामा वृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) प्रदेश नंं २ ले जनाएको छ । वर्ष पुस्तक २०२२ प्रकाशन हुनु भन्दा एक दिन अगाडी सन् २०२१ को जनवरी देखि २०२१ डिसेम्बर ३० सम्मको घटनामा सो तथ्य बाहिर आएको छ ।

मानव अधिकारको सवालमा प्रहरी प्रशासन बढी संवेदनशील भएका कारणले नै मानव अधिकारको घटनामा कमी आएको वर्ष पुस्तक माथिको समीक्षा कार्यक्रममा सहभागी हुनु भएका धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो ।
उहाँले नागरिकताको अधिकार कानुनसँग जोडिएकाले कानुनको निर्माण नभएसम्म आफूले केही गर्न नसक्ने बताउँदै यसका बाबजुद पनि नागरिकता पाउने अधिकार भएकालाई दैनिक रुपमा १० देखि १५ जनाको समस्याहरू आफूले फुकाएर नागरिकता दिने गरेको बताउनुभयो ।
प्रदेश नंं २ मा मानव अधिकारका ७ सय ५२ वटा घटना भएको ईन्सेकका प्रदेश नंं २ का संयोजक राजु पासवानले जानकारी दिनुभयो । यस अवधिमा १८ वटा गर्भपतन, गैर न्यायिक हिरासतका ४, कुटपिटका ५८, वाल अधिकारका २ सय २५ वटा घटना भएको छ ।
अमानवीय व्यवहारको घटना २३, गैर न्यायिक हिरासतका २८, हत्याका ८५, जातीय छुवाछुत ३, भेला हुने अधिकारको ४०, धम्की ३, महिला अधिकारको उल्लङ्घन सम्बन्धी २ सय ६४ घटना भएको ईन्सेकका प्रदेश प्रमुख राजु पासवानले जानकारी दिनुभयो ।

महिला तथा बालबालिका माथिको हिंसा बढेकोले यसप्रति सबै पक्ष संवेदनशील हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
धनुषा जिल्लामा मात्र १ सय १५ वटा मानव अधिकारको घटना उल्लङ्घन भएको ईन्सेकका धनुषा प्रतिनिधि दीपेन्द्र सिंहले जानकारी दिँदै राज्य पक्ष वाट १ जनाको पनि यस अवधिमा हत्या नभएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष राजेश कर्ण, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेन, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान अधिकृत मनमाया मगर तथा विभिन्न अधिकारकर्मीहरूले वर्ष पुस्तकका विषयमा विभिन्न सुझावहरू दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्