केन्द्रिय सदस्य चयन प्रक्रिया आजबाट सुरु हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु हुने भएको छ ।
पुस ११ गतदेखि जारी महाधिवेशन अन्तर्गत आज अपराह्न १ः०० बजे सुरु हुने बन्द सत्रले प्रस्तुत सबै प्रतिवेदन पारित गर्दै केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु गर्ने भएको हो ।
आजको बन्द सत्र सुरु भए लगत्तै लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ । सो प्रतिवेदहरू पारित भएपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ नेता देवप्रसाद गुरुङले र राजनीतिक दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुहुनेछ ।
अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहहरूबाट आएका सुझावहरूको प्रष्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको छ ।
नेता गुरुङको विधान संशोधन मस्यौदा र अध्यक्ष प्रचण्डको राजनीतिक दस्ताबेजमा महाधिवेशन प्रतिनिधिहरूको समूहगत धारणा राख्ने क्रम बिहीबार सकिएको थियो । आज अध्यक्ष प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।
बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित भए लगत्तै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिनुभयो ।
बन्द सत्रमा केन्द्रीय सदस्यको नाम सहितको प्यानल घोषणा गर्ने तयारी गरिएको छ । सो नाममा कसैले दाबी विरोध गरेमा वा सर्वसम्मत हुन नसेकेमा मात्र निर्वाचन हुनेछ ।
माओवादी केन्द्रको विधान अनुसार महाधिवेशन हलले केन्द्रीय सदस्यहरु मात्रै चयन गर्ने व्यवस्था गरेको छ । प्रतिनिधिहरूले केन्द्रीय सदस्य टुङ्गो लगाए पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिको चयन केन्द्रीय समितिले गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्