तपाईँ सुन्दै हुनुहुन्छः

अभिनय कार्कीको १०० दिने साइकल यात्रा शुरु

दोलखा । देशको ७७ जिल्लामा पुगेर दोलखाको पर्यटन प्रवर्द्धन गर्ने तथा लागू औषध सम्बन्धी जनचेतना मूलक अन्तर्क्रिया गर्ने उद्देश्य सहित दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ लामिडाँडाका युवा अभियन्ता अभिनय कार्कीले बिहीबारबाट १०० दिने साइकल यात्रा सुरु गरेका छन् । 

दोलखा सदरमुकाम चरिकोट सातदोबाटो चोकबाट सुरु भएको उनको साइकल यात्राको शुभारम्भ जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र कालिञ्चोक गाउँपालिकाका प्रमुख विन कुमार थामीले संयुक्त रूपमा गर्नु भएको थियो । 

फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निमार्णका लागि युवाहरू एकजुट बनौँ’ भन्ने नारा सहित सुरु भएको आफ्नो साइकल यात्रा हरेक जिल्लाको सदरमुकामसम्म पुग्ने र प्रत्येक जिल्लाको सदरमुकाममा विद्यार्थी, बुद्धिजीवी लगायतसँग लागू औषध सम्बन्धी जनचेतना मूलक अन्तर्क्रिया गर्ने अभियन्ता अभिनय कार्कीले बताए । 

अन्तर्क्रियाको क्रममा प्राप्त सुझावको आधारमा लागू औषध विरुद्ध अभियान सञ्चालन तथा पुस्तक प्रकाशन आफ्नो लक्ष्य रहेको अभियन्ता कार्कीको भनाई छ ।

तमु ल्होसारको अवसरमा दोलखामा रहेको प्रसिद्ध कालिञ्चोक मन्दिर परिसरबाट साइकल यात्रा आरम्भ गर्ने आफ्नो लक्ष्य रहेको भएपनि त्यस क्षेत्रमा लगातार हिमपात भई रहेकोले आफूले सदरमुकाम चरिकोटबाट यात्रा सुरु गरेको कार्कीले बताए । अभियन्ता कार्कीले गत वर्षको फागुनमा विश्व शान्तिको कामना सहित पूर्व–पश्चिम पैदल यात्रा सफलता पूर्वक सम्पन्न गरेका थिए । 

अभियन्ता कार्कीको साइकल यात्राको लागि दोलखाको कालिञ्चोक गाउँपालिका सहित सबै स्थानीय तह, विभिन्न संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । आफ्नो यात्राको क्रममा अन्य जिल्लाहरूबाट समेत सबै प्रकारको सहयोग प्राप्त हुने अपेक्षा आफूले लिएको कार्कीले बताए ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button