तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले दुई दिनदेखि सोलुमा हवाई उडान ठप्प, सडक आंशिक सञ्चालन

सोलुखुम्बु । मङ्गलवार रातीदेखि परेको बाक्लो हिमपातका कारण सोलुखुम्बुका दुवै विमानस्थलमा दुई दिनदेखि हवाई उडान ठप्प भएको छ । 

मौसममा सामान्य सुधार भए पनि विमानस्थलमा बाक्लो हिउँ जमेपछि बिहीबार पनि सोलुखुम्बुको व्यस्त पर्यटकीय तेन्जिङ हिलारी विमानस्थल लुक्लामा कुनै उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि तय भएका नेपाल समिट एयरका तीन उडान र तारा एयरलाइन्सका तीन वटा उडान स्थगित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार धावनमार्गमा बाक्लो हिउँ भएकाले सबै उडान रद्द भएको हो । हिउँ जम्ने भएकाले शुक्रवार पनि बिहानको उडान हुने सम्भावना नरहेको उहाँको भनाइ छ ।

लुक्लामा बिहीबार हेलिकप्टरले १३ उडान गरेका छन् । हेलिकप्टरलाई धावनमार्ग नचाहिने भएकाले उडान भएको बताइएको छ । 

सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा पनि बिहीबार सबै उडान स्थगित भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । फाप्लुमा बिहीबारका लागि समिट एयरको उडान रहेको थियो । फाप्लुमा पनि हेलिकप्टरले एक उडान गरेको छ ।

त्यस्तै, हिमपातका कारण सडक मार्ग पनि पूर्ण रूपमा चल्न सकेको छैन । पत्ताले क्षेत्रमा बिहान ठप्प बनेको सडक यातायात दिउँसोबाट आंशिक रूपमा सञ्चालनमा आएको सोलुखुम्बुका ट्राफिक इन्चार्ज कृष्ण कटवालले जानकारी दिनुभयो । 

पत्ताले क्षेत्रको सडकमा एक फिट भन्दा बाक्लो हिउँ जम्दा आवागमनमा समस्या भएको र जोखिम मोलेर केही सवारी साधन चलेको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा जिल्ला भित्रिने तथा बाहिरिने दर्जनौँ सवारी साधन अलपत्र परेका छन् ।

सोलुखुम्बुबाट पूर्वी नेपाल तथा राजधानी छुट्ने साना तथा ठुला सवारी साधनहरू बिहान जान सकेनन् ।  करिब तीन हजार मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा हिमपात हुँदा बर्षेनी सवारी आवागमन ठप्प हुने गरेको छ । सडकमा    जेसीवीले हिउँ सफा गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button