तपाईँ सुन्दै हुनुहुन्छः

एउटै कार्यक्रममा जुट्यो सवा दुई लाख उपचार खर्च

सोलुखुम्बु । रुखबाट लडेर गम्भीर घाइते भएका सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकाका भूपाल राईको उपचारका लागि एउटै कार्यक्रमबाट सवा दुई लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको छ ।

मेरुदण्ड भाँचिनुका साथै हात र खुट्टामा गहिरो चोट लागेर ग्राण्डी हस्पिटलमा उपचाररत राईका लागि दुई लाख २६ हजार रुपैयाँ सङ्कलन भएको हो । 

नेपाली काँग्रेसको टाक्सिन्दु–काठमाडौँ सम्पर्क समिति गठनका लागि आयोजना भएको कार्यक्रमका क्रममा नेपाली काँग्रेस सोलुखुम्बुका प्रदेश सभा ‘ख’ का सचिव चन्द्रबहादुर राईले घाइते राईको उपचारमा रकम अभाव भएको बताएपछि त्यही कार्यक्रममा तत्काल सहयोग रकम प्राप्त भएको हो ।

काँग्रेस प्रदेश ‘ख’ सभापति कर्मा शेर्पाले ५० हजार रुपियाँ, पासाङ शेर्पाले ३० हजार, सोलुदूधकुण्ड नगरपालिकाका मेयर तथा काँग्रेसको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पा र पर्यटन व्यवसायी तथा काँग्रेस नेता साङ्गबहादुर राईले २५/२५ हजार, चन्द्रबहादुर राईले १५ हजार, नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा, दोर्जी शेर्पा र ङिमा लामा शेर्पाले १०/१० हजार र अन्य उपस्थित काँग्रेस कार्यकर्ताले नगद सहयोग गर्नुभएको छ । 

सामान्य आर्थिक अवस्थाका कारण उपचारमा समस्या भइरहेका बेला सहयोग रकम पाएपछि परिवारले उपचारमा सहज हुने बताएका छन् । अन्य व्यक्तिहरूबाट पनि सहयोग रकम आउने क्रम शुरु भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button