तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तलामा अज्ञात रोग, किसानलाई क्षति

पर्वत । अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि यहाँको एक गाउँका कृषक समस्यामा परेका छन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको संक्रमण फैलिँदा पर्वतको मोदी गाउँपालिका वडा नंं २ देउपुरका कृषक पछिल्लो ३ वर्षयता किसान समस्यामा हुन् ।

पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेको मध्ये २० प्रतिशत मात्रै सुन्तला बिक्री गर्न सकिएको किसानहरू बताउँछन् । सुरुमा केही बोटमा देखिएको यो समस्या यो वर्ष भने गाउँभरि फैलिएको छ ।

स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्ष दाताराम चापागाईँका अनुसार दुई वर्ष अघि तल्लो दोबाटो गाउँमा देखिएको बोट मर्ने र फल झर्ने समस्या बिस्तारै फैलँदै गएको हो । उहाँका अनुसार सुन्तलामा २ प्रकारको रोग देखिएको छ । ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने र पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या देखिएको छ ।

फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । कृषि प्राविधिकका अनुसार ‘फेरामेन ट्रयाप’ मा ‘मिथाइल युजिल’ मिलाएर राख्दा टाइफुलेट मर्थ्यो । प्राविधिकले ग्रिन सिटासिल्लालाई मानिसलाई लाग्ने एचआइभी एड्ससँग तुलना गर्दै यो समस्या समाधान नहुने बरु नयाँ बोट रोप्नेबाहेक अरू विकल्प नभएको बताउने गरेका छन् । वर्षौँदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तला खेतीबाट आम्दानी घटेपछि किसानहरू चिन्तित बनेका छन् । पहेँलपुर हुने यो सिजनमा रित्ता बोट छन् ।
स्थानीय अगुवा किसान भूमिराज शर्माका अनुसार कुनै बेला देउपुरमा मात्रै रु. ३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुन्थ्यो । अहिले गाउँभरि ५० लाखको पनि सुन्तला छैन । यो गाउँमा मात्रै ७ सय मध्ये झन्डै ४ सय परिवारले व्यावसायिक सुन्तलाको खेती गर्दै आएका छन् सुरुसुरुमा सुन्तला बजारसम्म पु¥याउन समस्या थियो ।

पछिल्लो ३ वर्ष भयो गाउँसम्मै कालोपत्रे सडक पुगेको छ । यातायातको पहुँच सहज भएसँगै किसानहरूले सुन्तलामा भविष्य देखे । व्यावसायिक सुन्तला खेतीमा लाग्नेको सङ्ख्या पनि बढ्दै गएपनि किसानले आफूखुसी बिरुवा ल्याएर रोप्न थालेपछि समस्या आएको हो । खेती विस्तार गर्ने र छिटो आम्दानी लिने लोभमा कृषि प्राविधिकले सिफारिस नगरेका र प्रमाणित नभएका जात र स्थानबाट बिरुवा ल्याउँदा यी रोगसमेत भित्रिएको कतिपय किसानको बुझाइ छ । यो समस्या लिएर नार्कसम्म पुग्दा समेत समाधान पहिल्याउन नसकिएको सुन्तला खेती गर्दै आएका बाबुरा शर्माले बताउनुभयो ।

अब गाउँभरिका पुराना सबै बोट हटाएर नयाँ र रोग सहन सक्ने जातका बोट नलगाए देउपुरलाई सुन्तलाको नामले चिनाउन नसकिने अगुवा किसानको भनाई छ । कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले सुन्तलामा देखिएको यस्तो समस्या एकैपटक समाधान हुन नसक्ने बताउनुभयो । सुन्तलाको बिउ, बिरुवा उत्पादनदेखि फल लाग्ने बेलासम्मको मौसम, जलवायु परिवर्तनलगायतका कारण यस्तो समस्या देखिएको हुन सक्ने थापाको भनाई छ । यो समस्याबारे कार्यालयले निरन्तर अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button