संसदीय समितिका निर्णय हुबहु पालना गर्ने मन्त्री आलेको प्रतिबद्धता
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा मन्त्री आलेले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभयो ।
मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको र निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने बताउनुभयो ।
बैठकमा सभापति पवित्रा खरेलले मिनी संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गर्नुभएको थियो ।
बैठकमा समितिका सदस्य माधवकुमार नेपाल लगायतले निर्देशन कार्यान्वयनमा ध्यान पुर्याउन, नेपाल वायु सेवा निगमलाई दीर्घजीवी तुल्याउन, निजगढ, पोखरा र गौतम बुद्ध विमानस्थलका कामलाई तीव्रता दिन मन्त्रालय र सरोकारवाला निकायबिच समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्