तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिणाममा लागु औषधसहित एक जना पक्राउ

वीरगंज  ।  पर्सा प्रहरीले आज बिहान वीरगंजबाट ठूलो परिणाममा रहेको अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपास सडक खण्डमा रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा  वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी १९ वर्षीय विक्रम सर्राफको साथबाट ठूलो परिणाममा अवैध लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो ।

  सीमावर्ती सहर रक्सौलबाट पैदल आइरहेका सर्राफले बोकेको झोला चेकजाँचको क्रममा अवैध लागु औषध  नुफ्रिन ३ सय ५० एम्पुल, डाइजीपाम ३ सय ५० एम्पुल र फेनारगन समेत ३ सय ५० एम्पुल गरी १ हजार ५० एम्पुल अवैध लागु औषध बरामद भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

लागु औषधसहित पक्राउ परेका सर्राफलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा आवश्यक कारबाही अगाडी बढाइएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । 

यसैगरी, सशस्त्र प्रहरीले पर्साको पोखरीयाबाट १ सय ५० किलो ग्राम गाँजा नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीले पर्साको पोखियाबाट सोमबार साँझ एक सय ५० किलो ग्राम अवैध लागू औषध गाँजा बरामद गरेको हो । 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ छिन्नमस्ताबाट खटिएको टोलीले बा५च ६५५३ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो । 

वीरगन्जबाट भिस्वातर्फ जाँदै गरेको गाडीलाई सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको वडा नम्बर ३ स्थित सडकमा रोक्न खोज्दा चालक फरार भएका थिए । 

गाडीबाट सशस्त्र प्रहरीले १५ वटा पोकामा रहेको १ सय ५० किलो ग्राम गाँजा बरामद गरेको बस्नेतले बताउनुभयो । 

वीरगन्जबाट सीमावर्ती गाउँ हुँदै भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले गाडी चेकजाँच गरेको र सो क्रममा बरामद गाँजा थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको डिएसपी बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button