तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका विमानस्थल स्तरोन्नति गर्न १ अरब ३२ करोड बढीभन्दा बढी बजेट विनियोजन

अछाम ।  सुदूरपश्चिमका विभिन्न विमानस्थल निर्माण तथा स्तरोन्नति १ अरब, ३२ करोड १० लाख ४८ हजार ३ सय ६३ रुपैयाँ विनियोजन गरिएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेकोको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले सुदूरपश्चिमका विभिन्न १० विमानस्थल निर्माण तथा स्तरोन्नति गर्न उक्त बजेट विनियोजन गरिएको जनाइएको छ । 

जस अन्तर्गत अछाममा दुई वटा विमानस्थल स्तरोन्नति गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। 

हाल सञ्चालनमा रहेको साँफेबगर विमानस्थलको स्तरोउन्नती गर्ने ३ करोड रुपैयाँ र अछामको कमलबजारमा सञ्चालनमा नआई गौचरनमा परिणत भएको कमलबजार विमानस्थलको सुदृढीकरण गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

यस्तै, महेन्द्रनगर विमानस्थल सुदृढीकरण गर्न २ करोड ४९ लाख ३२ हजार, बैतडी विमानस्थल बहुवर्षीय आयोजनाको लागि १ करोड ५० लाख ४४ हजार तथा दार्चुला विमानस्थलको लागि २ करोड ६५ लाख ४८ हजार बजेट विनियोजन भएको प्राधिकरणले जनाएको छ । 

यसैगरी, बझाङ विमानस्थलको लागि  १२ लाख ९९ हजार २ सय, बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार , डडेलधुरा विमानस्थल  सम्भाव्यता अध्ययन गर्न ५० लाख रकम विनियोजन गरेको छ। 

यस्तै, मन्त्री आलेको गृह जिल्ला डोटीमा डोटी विमानस्थल स्तरोउन्नतीसहित २ सय २० मिटर धावनमार्ग थप गर्ने, टर्मिनल टावर बनाउन र जमिन अधिग्रहण गर्ने १८ करोड ६१ लाख ४७ हजार  तथा सबैभन्दा बढी धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा स्तरोउन्नती गर्न करिब २५० बिगाहा जमिन अधिग्रहण गर्ने २५०० मिटरको धावनमार्ग पुर्‍याउन १ अर्ब बजेट विनियोजन गरेको छ। 

लामो समयदेखि अलपत्र परेको जिल्लाको कमलबजार विमानस्थलका लागि बजेट विनियोजन भएकोमा स्थानीय शङ्कर भण्डारीले खुसी व्यक्त गर्नुभयो । 

प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button