‘कुटेको चामल, फलेको कोदो’ अभियान : चौरपाटीले २२ क्विन्टल कोदो सङ्कलन गर्यो

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियान अन्तर्गत २२ क्विन्टल कोदो सङ्कलन भएको छ ।
पालिकामा मङ्सिर २६ गतेदेखि कोदो सङ्कलन अभियान सुरु भएको हो ।
गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उद्देश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताउनुभयो ।
उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहोस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेको उहाँले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारी र तीव्र सहरीकरणका कारण कोदोको उत्पादन घटेको र कोदो उत्पादन हुने लेकाली जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उहाँको भनाई छ ।
फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएको अध्यक्ष साउदले बताउनुभयो । किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेको अध्यक्ष साउदले जानकारी दिनुभयो ।
अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महँगोमा किनेर खान थालेका छन् । यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगञ्जमा निर्यात हुने गरेको अध्यक्ष साउदले बताउनुभयो ।
आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले बताउनुभयो । भात खान पाँच घण्टा हिँडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहेनत गर्ने जाँगर पलाएको बताएका छन् ।
कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका शहरवासीहरू भने महँगोमा किनेर खान थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्