प्रदेश १ स्तरीय भलिबलको उपाधि झापा गाउँपालिकालाई

भद्रपुर, झापा । झापाको शरणामतिमा सम्पन्न प्रदेश १ स्तरीय अन्तरपालिका दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक झापा गाउँपालिकाले जितेको छ ।
झापा गाउँपालिकाले उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै उपाधि हात पारेको हो ।
जीतसँगै झापा गाउँपालिकाले नगद एक लाख ५१ हजार र शील्ड हात पारेको छ भने उपविजेता आमचोकले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ दि म्याच पराजित आमचोकका रोमन बस्नेत हुनुभयो । उहाँले नगद एक हजार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको वेस्ट सेटरको उपाधि विजेता टोलीका सागर किरण भट्टराईले हात पार्नुभयो भने वेस्ट स्पाइकरको उपाधि आमचोकका रोमन बस्नेतले प्राप्त गर्नुभयो ।
त्यस्तै, वेस्ट सर्भरको उपाधि झापाका रोशन शिवाकोटी र वेस्ट डिफेन्सको उपाधि झापाकै गणेश कटवालले प्राप्त गर्नुभयो भने उदीयमान खेलाडीको उपाधि आयोजक झापा गाउँपालिकाकै अनीश गणेशले प्राप्त गर्नुभयो ।
उहाँहरूले जनही नगद पाँच हजार ५ सय प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट खेलाडी आयोजक झापाकै रोहित शिवाकोटी हुनुभयो । उहाँले नगद सोह्र हजार ५ सय प्राप्त गर्नुभयो ।
प्रतियोगितामा प्रदेश एकका १६ वटा टिमको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्