जुम्लाका ३ हजार ७ सय बालबालिकालाई मोर्डना खोप लगाइयो

जुम्ला । जुम्लाका ३ हजार ७ सय ५३ बालबालिकालाई मोडर्ना खोप लगाइएको हो । शनिवार सम्मको तथ्याङ्क हेर्दा साढे ३७ सय बालबालिकालाई खोप लगाइएको हो ।
एक नगरपालिका र सात वटा गाउँपालिका रहेको जुम्लाका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य लिइएको छ । २० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य अनुसार चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ देखि ११ पुससम्म मोर्डना खोप लगाइदैंछ ।
१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,“हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने सुरु गएको छ ।”चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका ३ हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । ‘हालसम्म २ हजार २ सय ३२ जना बालबालिकालाई खोप लगाइ सकिएको छ । अझै खोप कार्यक्रम जारी छ ।
तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीका अनुसार विद्यार्थी भर्नाका आधारमा २ हजार ९ सय बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि १ हजार ५ सय डोज खोप मात्रै प्राप्त भएको छ ।
प्राप्त खोपमध्ये ६ सय ११ जनालाई खोप लगाइएको छ । भने, बाँकी खोप लगाउने कार्य जारी नै छ । कम मात्रमा खोप प्राप्त भएकोले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको छ ।
अझै विद्यालय बाहिर रहेका घरमा बस्ने, गोठालो, होटल, ग्यारेजमा काम गर्ने बालबालिका खोप लगाउनबाट छुट्ने अवस्था देखिएको छ । तातोपानी गाउँपालिकामा ५ सय ४१ जना, गुठीचौरमा ३ सय ६९ जनालाई खोप लगाएको छ । यस्तै, पातारासी गाउँपालिकामा १८ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताउनुभयो ।
कर्णालीका ९ जिल्लामै लगाइँदैं खोप
सुर्खेतबाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोभिड—१९ विरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडर्ना खोपको पहिलो मात्रा शनिवारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी २ देखि १० माघसम्म लगाइने जानकारी दिनुभयो । साबिकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ ।
‘स्वास्थ्य कर्मचारी, शिक्षक/शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ । विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्