यस वर्ष बाघको सङ्ख्यामा वृद्धि हुने प्रक्षेपण

चितवन । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज सँगै देशभर बाघको सङ्ख्या वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्रै सन् २००० गरिएको बाघ गणनामा ६० वटा , २००९ मा ९१ वटा, २०१३ मा १२० वटा , २०१८ मा ९३ वटा बाघ रहेका थिए । तथ्याङ्क अनुसार २०१० सम्म विश्वमा ३००० हजार बाघ रहेका थिए भने सन् २०२२ सम्म यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएको थियो । सोही अनुसार २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ रहेका छन् र सन् २०२२ सम्ममा २५० बाघ पुर्याउने लक्ष्य नेपालको छ । निकुञ्जका अनुसार नेपालमा २००९ मा १२१ वटा, २०१३ मा १९८, २०१८को बाघ गणनामा २३५ वटा रहेका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले विगतका वर्षदेखि बाघको सङ्ख्या वृद्धि हुने क्रम रहेको र यसबर्ष पनि बाघको सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको बताउनु भयो ।

सन् २०२२ सम्म हाम्रो लक्ष्य देशभर २५० वटा बाघ पुर्याउनु हो, उहाँले भन्नुभयो यसअघि २०१८ को बाघ गणनामा नै २३५ वटा पुगिसकेको छ । उहाँका चोरीशिकारी कम हुनु, बाघको आहारा सहज उपलब्धता हुनु र प्राकृतिक तथा अन्य कारणले बाघको कम मृत्यु भएकोले यस बर्ष बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको हो । यस्तै बाघलाई आहारा तथा पानीको श्रोतको अभाव नभएको र मृग प्रजातिका वन्य जन्तुको घनत्व पनि बढेकोले बाघको सङ्ख्यामा वृद्धि हुने प्रमुख आचार्यको भनाई छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।

अहिलेको बाघ गणनामा चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिएको छ । देशैभरको सर्वेक्षणको शुभारम्भ भने चितवन राष्ट्रिय निकुञ्जको सौराहामा भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्