तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली पाठ्यक्रममा आधारित जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलको वार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न

जापान: प्रवासमा रहेको एकमात्र नेपाली पाठ्यक्रम तथा अन्तर्राष्ट्रिय पाठ्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलको नवौँ वार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधान गर्दै जापानस्थित नेपाली राजदूतावासका चार्जी डि अफेयर्स अम्विका जोशीले प्रवासमा अवस्थित यस विद्यालयले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न उल्लेखनीय भूमिका खेलेको बताउनु भयो ।

यसैगरी, कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु हुदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सीले नयाँ पुस्तामा सांस्कृतिक मूल्यमान्यता आदनप्रदान गर्दैै अध्ययन–अध्यापन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापानका नवविर्वाचित अध्यक्ष रविन शमाद्वारा प्रवासमा नेपाली साहित्यको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

जापानको शिक्षा मन्त्रालयबाट समेत उक्त विद्यालय इन्टरनेशनल स्कुलकोरुपमा मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणका रहेको जानकारी विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टले दिनुभयो ।

एनआरएन जापानका अध्यक्ष शिव पौडेलले यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममै रेडियो नेपालका बरिष्ठ संगीतकार नारायण ओलीले भर्चुअल माध्यमबाट म मरे पनि मेरो देश बाँचिरहोस् र यो हो गीत तिमीलाई, यो हो प्रित तिमीलाई बोलका गीत गाएर मनोरञ्जन प्रदान गर्नु भयो भने भारतीय कलाकार ज्योति उप्रेतीले संस्कृत तथा फूलको थुङ्गा र सम्झना बिर्सना बोलका नेपाली गीत प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयले बहुधार्मिक, बहुसांस्कृतिक पक्षलाई जोड दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न किसिमका नृत्यहरू तथा गायन प्रस्तुत गरी मनोरञ्जन प्रस्तुत गर्नु भएको थियो ।

जापानमा अवस्थित सिएफएफ जापानकी चिए सुगिहारा सान लगायत उक्त संस्थाका अन्य सदस्यले जापानी पनि नृत्य प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा लुनिभा महर्जनले नेपाल र जापान बीचको कला तथा संस्कृतिको समानता तथा भिन्नताबारे प्रकाश पार्नु भएको थियो ।

नेपाल बाहिरको एकमात्र नेपाली एवम् क्याम्ब्रिज विश्वविद्यालयको कार्यक्रमसमेत सञ्चालन गर्ने पहिलो विद्यालयको रुपमा एभरेष्ट इन्टरनेशनल स्कुल जापान स्थापित भएको कुरा जानकारी दिंदै विद्यालयका अध्यक्ष भवन भट्टद्वारा कार्यक्रम समापन गर्नुभएको थियो ।

हाल उक्त विद्यालयमा आंशिक र पूर्णकालीन गरी ४८ जना शिक्षक तथा कर्मचारी कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button