पाँच पालिका र लुम्बिनी गार्डेन फाउन्डेसनबिच सहकार्य
पर्वत । साबिक धौलागिरि अञ्चलका पाँच स्थानीय तह र लुम्बिनी गार्डेन फाउन्डेसन बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
त्यस क्षेत्रका स्थानीय तहहरूको शिक्षा, स्वास्थ्य, सरसफाइ, धार्मिक, पर्यटन, कृषि लगायतका विकासका कामहरूमा सहयोग र सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
पर्वतको कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका तथा बागलुङको बागलुङ नगरपालिका र म्याग्दीको बेनी नगरपालिका तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन बिच संस्थागत सम्बन्ध कायम एवम् सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

शुक्रवार बागलुङ नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गरिएको हो ।
कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, बेनी नगरपालिकाका नगरप्रमुख हरिकृष्ण श्रेष्ठ, जलजलाका अध्यक्ष यामबहादुर मल्ल, मोदीका अध्यक्ष प्रेम पौडेल तथा लुम्बिनी गार्डेन फाउन्डेसनका संरक्षक गोविन्द सुवेदी बिच हस्ताक्षर आदानप्रदान गरिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतापछि श्रोत र साधन सीमित रहेका तथा विकासका लागि धेरै सहयोगको खाँचो रहेका पालिकाहरूको विकासका लागि यो अभियानले सहयोग पुग्ने विश्वास अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्