हिउँ-पानी पर्दा चिसोले जनजीवन प्रभावित
सोलुखुम्बु । सोलुखुम्बुको जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ । शुक्रवार दिउँसोदेखि मौसममा खराबी आएर हिँउपानीका कारण चिसो बढ्दा स्थानीय बासिन्दा तथा चौपायाहरू प्रभावित भएका हुन् ।
खुम्बु क्षेत्रमा हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकोले चिसोमा अत्यधिक वृद्धि हुँदा जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी, जुभिङ्ग लगायत आधा दर्जन डाँडा सहित आसपासका क्षेत्रहरूमा समेत हिउँ परेको छ ।

लामो समयपछि हिउँ पानी परेकाले कृषकहरूमा भने उत्साह जागेको पाइएको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानी धेरै महत्त्वपूर्ण भएको कृषकहरूको भनाइ छ । बल्ल अब मकै सजिलै उम्रने सल्लेरीका कृषक पेशल थापाले बताउनुभयो ।
जिल्लामा चिसोका कारण जिल्लाको जनजीवन बिस्तारै कष्टकर बन्दै गएको छ । हिउँले गर्दा मानिसलाई भन्दा पनि पशुपंक्षीलाई कष्ट भएको छ ।
हिउँ पर्दाको लागि जोहो गरेको दाउरा, चौँरी तथा गाईलाई खुवाउन राखेको घाँस समेत बारीमा लिन जान नसकेपछि झनै थप कष्ट थपिएको हो ।
चिसोले विशेष गरी बालबालिका तथा बृद्धबृद्धाहरुलाई समेत सताएको छ ।








प्रतिक्रिया राख्नुहोस्