भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र पारिएसँगै अर्को ठूलो परियोजना भेरी कोरिडोरको काम पनि सँगसँगै अघि बढेको छ ।
भेरी नदी किनाराको जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको भेरी कोरिडोर परियोजनाले बाँझो खेतमा लिफ्ट सिँचाइमार्फत पानी पुर्याई दिएपछि कृषकले बाँझो खेतलाई हरियाली बनाएका छन् ।

अहिले सौर्य शक्तिमा आधारित सिँचाइ प्रविधिको प्रयोगले तरकारी उत्पादन गरी कृषकले गाउँको मुहार नै फेरेका छन् ।
केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानीको बाटो हेरेर बस्नु पर्दथ्यो । बस्ती नजिकैबाट नदी सुसाइरहेको भए पनि सिँचाइ अभावले वर्षभरि खान पुग्दैनथ्यो । अपुग अन्नपातको जोहो गर्न भारतको काला पहाड जानुपर्ने बाध्यता थियो । तर, अहिले भेरी करिडोर आयोजनाको सहयोगबाट सौर्य शक्तिमा आधारित सिँचाइ प्रविधिको प्रयोगले तरकारी उत्पादन गरी कृषकले गाउँको मुहार नै फेरेका छन् ।

बाह्रै महिना गाउँमा सिँचाइको सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताउनुभयो ।

वर्षौँदेखि सुक्खा जमिनमा आयोजनाले लिफ्ट सिँचाइ पुर्याएपछि कृषक उत्साहित भएका छन् ।
अहिले आधुनिक तरकारी खेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमा नै सुधार आएको अर्का कृषक मनसरा खड्कले बताउनुभयो ।
आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाट गाउँसम्मको १ सय २५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सहत सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण गर्ने कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर (सीडीई) लेखनाथ सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भेरी करिडोर सिँचाइ विकास आयोजना अन्तर्गत ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा लिफ्ट एवं सतह सिँचाइ पुर्याएको बताउनुभयो । उहाँका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९.५ प्रतिशत प्रगति भएको छ ।

अबको २ वर्षभित्र आयोजनाले भेरी कोरिडोरका ६ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ सुविधासँगै बिद्युत् पुर्याउने लक्ष्य राखेको छ ।
करिब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा साबित अपेक्षा राखिएको छ ।










प्रतिक्रिया राख्नुहोस्