पुसको अन्तिमदेखि बुस्टर खोप लगाउने सरकारको तयारी
काठमाडौँ । सरकारले कोरोना विरुद्धको थप खोप बुस्टर डोज यही पुसको अन्तिमबाट लगाउने तयारी गरिरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएमा दुवै मात्रा खोप लगाएका अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई पुसको अन्तिमबाट बुस्टर डोज खोप दिइने तयारी भइरहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयद्धारा आज आयोजित प्रेस विफ्रिङमा मन्त्री खतिवडाले सरकारको प्रमुख चिन्ता कोरोनाबाट मुक्त हुनु भएकाले अहिले देखिएको कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनबाट बच्न सरकारले सबै पूर्व तयारी गरिसकेको पनि जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमाथिका उमेर समूहलाई सरकारले कोभिसिल्ड र भेरोसेल खोप र १२ देखि १७ वर्षसम्मका उमेर समूहलाई मोर्डना र फाइजर खोप लगाइरहेको बताउनुभयो ।
मोर्डना र फाइजर खोप यही पुस ४ गतेदेखि विभिन्न विद्यालयलाई खोप केन्द्र बनाई विद्यार्थीसहित विद्यालय वरिपरि भएका किशोर किशोरीलाई समेत लगाउने व्यवस्था गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनबाट बच्न दक्षिण अफ्रिकासहित ९ वटा देशमा हवाई उडान रोक लगाइएको, त्यसबिचमा ट्रान्जिटमा रहेकालाई ७ दिनसम्म क्वारेनटाइनमा राखिएको, स्थल मार्गबाट आउने लाई विभिन्न ठाउँमा हेल्थ चेक गर्ने कार्य जारी रहेको समेत मन्त्री खतिवडाले बताउनुभयो ।
मन्त्री खतिवडाले खुला बोर्डरबाट आवतजावत गर्दा पिसिआर रिपोर्ट वा खोप लगाएको कार्ड बोकेर मात्र हिड्डुल गर्न सर्वसाधारणलाई अनुरोध पनि गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्