मकवानपुरमा पहिलो चरणमा ६ हजार बढीको मतदाता नामावली दर्ता
मकवानपुर । मकवानपुरमा पहिलो चरणमा ६ हजार भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा ६ हजार २७० जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाकी सूचना अधिकारी सम्झना ढकालका अनुसार जिल्लाको ५ स्थानीय तह, जिल्ला प्रशासन कार्यालय मकवानपुर र बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडामा गएको मङ्सिर १७ गते देखि पुस २ गतेसम्म पहिलो चरणमा ६ हजार २ सय २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन ।
पहिलो चरणमा जिल्लाको बकैया गाउँपालिकामा १ हजार ३२१ जना,मनहरीमा १ हजार २४४ जना, मकवानपुरगढीमा १ हजार ९९ जना,इन्द्र सरोबरमा ६ सय ३८ जना र भीमफेदी गाउँपालिकामा ४ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले जानकारी दिनु भयो ।

त्यस्तै बागमती प्रदेश निर्वाचन कार्यालयबाट ९ सय ९१ जना, जिल्ला प्रशासन कार्यालयबाट ३ सय ७६ जना र बाह्य जिल्ला दर्ता (ओडिआर) बाट १ सय ९६ जनाले दर्ता गराएको सूचना अधिकारी ढकालले बताउनुभयो ।
ढकालका अनुसार अहिले दोस्रो चरण अन्तर्गत पुस ५ बाट जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकामा मतदाता नामावली सङ्कलन कार्य भइरहेको छ। ढकालका अनुसार उक्त स्थानीय तहमा माघ ५ गतेसम्म सङ्कलन कार्य जारी रहने छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने अधिकारीले बताउनुभयो ।
१६ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरूले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएकाहरूलाई स्थानीय तहमै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ।








प्रतिक्रिया राख्नुहोस्