तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षी दलको अवरोधकाबीच चार अध्यादेश स्वीकृत

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधकाबीच चार अध्यादेशहरू स्वीकृत भएका छन् । 

बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश,  “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश २०७८ स्वीकृत गरेको हो । 

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सभाको नियमित कार्यसूचीमा प्रवेश गरी आफ्ना असहमतिलाई राख्न अनुरोध गर्नुभयो । 

प्रतिपक्षी दलको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 

यसैगरी, गृह मन्त्री खाँणको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको छ । 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको अर्को बैठक यही पुस १८ गते आइतबार दिउँसो १:०० बजे बस्ने छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button