तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन: मतगणनाको परिणाम आउने क्रम जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ । 

आज भएको मतगणना अनुसार मधेसी क्लस्टर तर्फको केन्द्रीय सदस्यमा अजय चौरसिया, विनोद चौधरी, चन्द्र मोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव निर्वाचित हुनुभएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी मतगणनाको परिणाम अनुसार मधेसी महिला क्लस्टरबाट मुक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जु कुमारी यादव र नागिना यादव केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । 

file photo

नेपाली काँग्रेसको संशोधित विधान अनुसार मधेसी क्लस्टरबाट ५ जना खुल्ला र ४ जना महिला निर्वाचित हुने व्यवस्था छ । 

यसैगरी मुस्लिम  खुल्ला तर्फबाट अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिला तर्फबाट जावेदा खातुन जागा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रदेश नं. १ बाट खुल्ला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित हुनुभएको छ भने महिला तर्फको केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बु निर्वाचित हुनुभएको छ । 

यस्तै बागमती प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा ध्यान गोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ भने महिला तर्फको केन्द्रीय सदस्यमा उर्मिला नेपाल केसी निर्वाचित हुनुभएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा अहिले मत परिणाम आउन बाँकी क्लस्टरको मतगणना भइरहेको र भोलि सम्ममा सबै पदको मत परिणाम आइसक्ने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button