प्रदेश नम्बर १ समूह ए को विजेता
धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगितामा साबिक विजेता प्रदेश नम्बर १ समूह ए को विजेता बनेको छ । प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै समूह विजेता बनेको हो ।
फाल्पा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ४७ रन बनायो । समूह ए को अन्तिम खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले हराउँदै प्रतियोगिता अन्त्य गर्यो ।
टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा ५१ रनमा अल आउट भयो ।
प्रदेश एक ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्यो । लुम्बिनी प्रदेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
बागमती प्रदेश ३ खेलमा १ मा जित र २ मा हार सहित तेस्रो र कर्णाली जितविहीन हुँदै बाहिरियो । समूह बी मा एपिएफ, प्रदेश २, गण्डकी र सुदूरपश्चिम छन् । सेमिफाइनल पुस १० र फाइनल पुस ११ मा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्