अपाङ्गता भएकालाई रोजगार बनाउँदै फाउण्ड परियोजना

विराटनगर । सिप र ऊर्जा भए पनि पुँजीको अभावमा विराटनगर–१७ का मोहमद नसिम आलमले व्यवसाय सञ्चालन गर्न सकिरहेका थिएनन् । पढाइमा स्नातक गरेपनि व्यवसायका लागि रकम नहुँदा के गर्नु के नगर्नु जस्तो उनमा भान भइरहेका थियो ।
अपाङ्गता भएका व्यक्तिलाई द ल्याप्रोसी मिसन नेपालको फाउण्ड परियोजनाले स्वरोजगार बनाउने अभियान शुरु गरेको उनले थाहा पाए र परियोजनासँग जोडिए परियोजनाबाट बिउ पुँजीको रूपमा २३ हजार ५ सय रुपैयाँ उनले पाए । सो रकम लिएर आलमले मोबाइल रिपेरिङ पसल शुरु गरे । ९ महिना अघि सुरु गरेको सो पसलबाट अहिले मासिक १५ हजार रुपैयाँ कमाउने गरेको र त्यसैबाट जीवनयापन सहज भएको उनले सुनाए । युवा उमेरमा रोजगारी नपाइरहेको अवस्थामा परियोजनाले आफूलाई स्वरोजगार बनाएको उनले बताए ।
परियोजना सञ्चालनमा आएपछि आलम जस्तै अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी पाएका छनभने धेरैले बिउ पुँजी लिएर व्यवसाय समेत सञ्चालन गरी रहेका छन् । परियोजनाले मङ्गलवार विराटनगरमा गरेको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा दिएको जानकारी अनुसार मोरङ र सुनसरी जिल्लाका अपाङ्गता भएका ७२ जनाले परियोजनाबाट बिउ पुँजी लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
त्यस्तै परियोजना मार्फत तालिम लिएका ३१ जना अपाङ्ग भएकाहरू औपचारिक रूपमा रोजगारमा जोडिएको ७६ जनाले विभिन्न प्रकारको तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेको र ९ जनाले सहायक सामाग्री पाएका छन् । त्यस्तै २ सय ३९ जनाले परियोजनाबाट सेवा लिएको र रोजगारसँग जोडिएका व्यक्तिहरूको कामबाट १५ जनाभन्दा बढी रोजगारदाता सन्तुष्ट भएको वार्षिक प्रतिवेदनमा जानकारी गराइयो ।
परियोजनाका प्रदेश न १ का मेनेजर विपिन दासले डेढ वर्षदेखि सञ्चालन भइरहेका परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई सपाङ्गता भएका व्यक्ति सरह रोजगारीको अवसर दिलाउन परियोजना सफल भएको दाबी गर्नुभयो ।
अहिले पनि मोरङ र सुनसरीमा सञ्चालित उद्योग व्यवसाय तथा गार्मेन्टबाट रोजगारीका लागि ५० भन्दा बढी व्यक्तिहरूको माग आएको र त्यसका लागि जनशक्तिहरूलाई तालिम दिने काम परियोजनाले गरिरहेको भन्नुहुँदै होटल अस्पताल तथा विद्यालयहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो ।
परियोजनामा हाल सम्म रोजगारीका लागि २ सय ३९ जना सूचिकृत भएका छन् । परियोजनाले ४ सय ५० भन्दा बढिलाई रोजगार प्रदान गर्ने र व्यवसायसँग जोडने लक्ष्य लिएको छ । यो कार्यक्रममा परियोजना सँग राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घले सहकार्य गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्